डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • दलाल पुँजीवादी अर्थव्यवस्था र गरिबी

दलाल पुँजीवादी अर्थव्यवस्था र गरिबी

दलाल पुँजीवादी अर्थव्यवस्था र गरिबी

पुँजीवादी अर्थव्यवस्था भनेको त्यस्तो अर्थव्यवस्था हो जसमा उत्पादनका साधनहरुमा व्यक्तिगत वा निजी स्वामित्व हुन्छ। यस्तो अर्थव्यवस्था मा व्यक्तिहरूलाई आफ्नो पेशा व्यवसाय गर्ने, नाफा कमाउने र व्यक्तिगत सम्पत्ति जम्मा गर्ने कानुनि अधिकार रहेको हुन्छ। यस्तो बजारमा बजार माग र पुर्तिको अन्तरक्रिया बाट मुल्य निर्धारण हुन्छ। व्यावसायिक फर्महरु बिच हुने प्रतिस्पर्धा को कारणले गर्दा उपभोक्ताले गुणस्तरीय वस्तु सस्तो र सर्वसुलभ मुल्यमा प्राप्त गर्न सकिन्छ भन्ने यसको सैद्धान्तिक आधार रहेको हुन्छ। यसको आधारमा हेर्ने हो भने यस्तो बजारमा गुणस्तरीय वस्तु सर्वसुलभ पाईनु पर्ने हो। तर व्यबहारमा खास सर्वसुलभ केहि पाईदैन। दैनिक उपभोग्य वस्तुको मुल्य लगायत स्वास्थ र शिक्षा जस्ता आधारभूत कुराहरुको मुल्य आकाशियको छ। किन गरिब झनझन गरिब हुदै गएका छन र धनी झनझन धनी हुदै गएका छन्? धनी र गरिब बिचको खाडल किन बढ्दै गएको छ? धनी र गरिब बिचको यो खाडल बढ्दै जानुमा धेरै कारणहरु हुन सक्छन् ति धेरै कारणहरु मध्ये दलाल पुँजीवादी व्यवस्था प्रमुख कारण हो भन्नुमा अतिशयोक्ति नहोला ।सामान्य अर्थमा दालाल भन्नाले उत्पादक र उपभोक्ता को बिचमा काम गर्ने वा वस्तु तथा सेवालाई उत्पादक तथा उपभोक्ता समक्ष पुर्याउने काम गर्ने व्यक्तिलाई दलाल वा विचौलिया भनिन्छ वा वस्तु, सेवा तथा सम्पत्ति को किनबेचमा सहजीकरण गर्ने र त्यहाँबाट कमिसन वा नाफा कमाउने मानिसलाई विचौलिया भनिन्छ।

बिचौलिया हुनु नै नराम्रो होईन। यसलाई सेवाको रुपमा पनि लिन सकिन्छ। तर यसो हेर्दा उत्पादन कार्यमा संलग्न हुने उत्पादकहरु पनि पिडामा छन्। उनीहरूलाई आफ्नो व्यवसाय धान्न हम्मे हम्मे छ। कच्चा पदार्थ, ऊर्जा र कामदारको मुल्य बढेको बढ्यै छ। बैंक कर्जाको ब्याज आकाशियको छ। यसरी हेर्दा उत्पादकहरु पनि मर्कामा छन् जस्तो देखिन्छ। यता उपभोक्ता पनि चर्को मुल्यस्फिति को कारणले चरम निराशा छ। सामान्य आम्दानी भएका गरिब, किसान र मजदुरले जीवन धान्न पनि हम्मे हम्मे छ। तर यिनै उत्पादक र उपभोक्ता को बिचमा सहजकर्ता को भुमिकामा रहने बिचौलिया भने जुनसुकै समयकालमा पनि दिन दुगुना र रात चौगुनाको आर्थिक फड्को मारिरहेका छन्। गरिब, किसान र मजदुरको बाच्नै गारो हुने अवस्थामा पनि किन उनीहरुको अस्वभाविक आर्थिक प्रगति छ त भन्ने कुराको विश्लेषण गर्ने बेला भएको छ। विचौलियाहरुले उच्च नाफा आर्जन गर्दै गर्दा यसले आम जनता र अर्थतन्त्र मा कस्तो प्रभाव रहन्छ भन्ने कुरालाई सजिलो सग बुझ्न अर्थतन्त्रका केहि क्षेत्रहरुको बारेमा चर्चा गरौँ।

कृषिस् कृषि क्षेत्रमा विचौलियाको असर कसरी परिरहेको छ र यसबाट को को नराम्रो गरि प्रभावित भएका छन् भन्ने कुरा हामी सबैले बुझेकै कुरा हो। यस क्षेत्रमा उत्पादन गर्ने किसान ले जीवन निर्वाह गर्ने बाहेक खासै आर्थिक प्रगति गरेको देख्न मुस्किल छ। उत्पादन लागत उच्च र उनीहरुले बिचौलियाहरुबाट प्राप्त गर्ने कृषिजन्य बस्तुहरुको मूल्य एकदमै कम छ। किसानहरु सँग सस्तो मूल्यमा कृषि उपज खरिद गर्ने र बजारमा चर्को मूल्यमा विक्री गरि मनग्ये नाफा कमाउने काम दलालहरुले गरिरहेका छन् त्यसकारणले किसानको हैसियत जस्ताको तस्तै छ, उपभोक्ता पनि चर्को मुल्य तर्न बाध्य छन् तर कृषि उपजको ब्यापार गर्ने मानिस वा बिचौलियाहरुको हैसियत उकासिएको छ। यसै कारणले गर्दा हाम्रो कृषि बजार दलाल मैत्री छ। तर सरकार किसानको यो अवस्था देखेर जानेर पनि बेखवर जस्तो देखिन्छ । जबसम्म किसानको पक्षमा उत्पादनको पक्षमा अर्थतन्त्र हुदैन तबसम्म किसानले मुक्ति पाउदैनन्। दैनिक उपभोग्य बस्तु सर्वसुलभ पाउन सकिदैन। त्यसकारण किसानको हित र उत्थान भनेको समग्रमा देशको उत्थान हो।

स्वास्थ्य क्षेत्रस् सरकारले स्वास्थ्य क्षेत्रमा पनि निजी लगानी भित्र्याउने निर्णय गरेसँगै निजी क्लिनिक तथा अस्पतालहरु खुले। तर यि निजी स्वास्थ्य संस्था हरुको स्वास्थ्य सेवा निकै महंगो तथा सर्वसाधरण मानिसको पहुचभन्दा निकै बाहिर छ। कारणवश कुनै गरिब परिवारका मानिस मेसो पाएर वा नपाएर निजी अस्पताल उपचारको लागि पसे भने तिनको उठिबास हुने कुरो निस्चय छ। सामान्य हात भाँचिएर सरकारी अस्पताल जाँदा सरकारी अस्पतालमा जम्माजम्मी रु ५००० मा उपचार हुन्छ तर एउटा निजी अस्पताल जानुस् त रु ५०००० देखि रु १००००० सम्म चैट हुने कुरा निश्चित प्राय छ। जीउँदो होउन्जेल दोहन गरेर बिरामी मर्ने बेलामा सरकारी अस्पताल रिफर गर्छन् यिनिहरु। मिठो बोली, सुकिलामुकिला टायल(मार्वल देखाएर बिरामी लुट्छन् यिनिहरुले पनि। सरकारी अस्पताल काम गर्ने डाक्टर हरुले पनि सरकारी अस्पतालमै आफ्नो निजी क्लिनिक वा अस्पतालको बिज्ञापन गर्छन् लाजै नमानिकन। पुजी लगानी गरेको र राम्रो नाफा कमाउनुपर्ने मनस्थितिमा हुन्छन् उनिहरु पनि। यसको अर्थ के हो भने हाम्रो स्वास्थ्य सेवा दलाल मैत्री छ। स्वास्थ्य सेवालाई नाफा आर्जन गर्ने साधन बनाईएको छ। जसले बढि लगानी गर्छ उसैले बढी नाफा कमाउदछ यस क्षेत्रमा पनि। त्यसैले यो क्षेत्र पनि दलाल पुजीवादको चपेटामा छ। यसले गर्दा गरिब झन गरिब बन्नुपर्ने बाध्यता छ यहाँ । हुनेले त उपचार गर्ला तर गरिब पस्यो भने पछुताउनु पर्छ निजी अस्पताल।

 

शिक्षास् शिक्षा एउटा आधारभुत आवश्यकता हो। गुणस्तरीय स्वास्थ्य शिक्षा सबैको पहुचमा हुनु जरुरी छ। सबैलाई समान तथा आधारभूत गुणस्तरीय शिक्षा को अवसर उपलब्ध गराउनु राज्यको दायित्व हो। तर शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पनि निजीकरण गरि राज्यले विचौलियाको प्रवेश गरायो। शिक्षालाई

किनबेचको बस्तु बनायो। सरकारले कम्तिमा कक्षा १२ सम्मको शिक्षालाई आफ्नो दायित्व लाई नजरअन्दाज गरि यो क्षेत्रमा पनि विचौलियाको प्रवेश गरायो। अहिले देशभर आधारभूत आवश्यकता शिक्षाको पनि किनवेच भइरहेको छ। छोराछोरी पढाउनकै लागि युवाहरु विदेशिएका छन्। राज्य मौन छ भने विचौलियाहरु मालामाल। राज्यले राखेकै व्यवस्था भित्र रहेर उनिहरुले शिक्षाको व्यापार गरेको हुनाले उनिहरुलाई भने केहि भन्नु छैन ।

घरजग्गास् बस्ने बास तथा खाने गास उब्जाउनको लागि घरजग्गा निकै मह्वपुर्ण क्षेत्र हो। २०६२र६३ सालपछि घरजग्गाको मुल्य यसरी आकाशियो कि सामान्य रोजगारी गरि नेपालमै बस्ने इमानदार मानिसको लागि यो आकाशको फल जस्तै भएको छ। अन्य क्षेत्र जस्तै यो क्षेत्र पनि दलाल मैत्री छ भनौ वा यो क्षेत्र त दलालहरुको उर्वर भुमि नै हो। आवश्यकता को आधारमा घरजग्जा किनबेच हुनसकेको भए आज घरजग्गाको मुल्य यतिसम्म उर्लिने थिएन होला। यस क्षेत्रमा चरम व्यापारीकरण भयो मुल्य दिन दुगुना र रात चौगुना भई उर्लियो। हामिले बैंक बाट ऋण लिएर मस्त लगानी गर्यौ, तर अहिले जग्गाको मुल्य १० बर्ष पहिले हालेको मुल्यसम्म पनि पर्दैन जसको फलस्वरूप हामीले अहिलेको मन्दी खेप्दै छौ। यहाँ हामीले १० बर्ष पहिले नै घरजग्गाको चर्को मुल्य तिरेको कारणले सिंगो अर्थतन्त्रमा र आम जनतामा उठ्नैनसक्ने गरि क्षति भयो। तर यसबीच मुठ्ठीभर दलालहरु भने नाफाको आहालमा पौडिरहे यसैले हाम्रो अर्थ व्यवस्था दलाल मैत्री छ।

यहाँनेर मुख्य कुरा के हो भने बैकहरु नाफा कुम्लयाउन तल्लिन रहिरहे तर राज्य उनिहरुलाई नै पोस्ने र आम जनताहरुलाई सोस्ने नीति निर्माण गर्दै उनीहरुकै पोषणकार्यमा जुटिरह्यो। अनुत्पादक क्षेत्र हो भन्ने जान्दाजान्दै राष्ट्र बैंक ले पनि यो क्षेत्रमा प्रवाह भईरहेको कर्जामा कडाइ गर्न सकेन। तर राष्ट्रबैंक उतपादनमुलक क्षेत्रमा चाहिने आवश्यक लगानी र सस्तो व्याजदरको बारेमा जानेर पनि बेखवर जस्तै रह्यो ।

पुँजीबजारस् बढ्दो ब्याजदर र प्रयाप्त तरलताको अभावमा शेयर बजार को ओरालो यात्राले ३२०० को उच्च बिन्दुमा पुगेको नेप्से इन्डेस झरेर २१०० को हाराहारीमा हल्लिरहेको छ। आम लगानी कर्ताले अरबौ गुमाए। ब्रोकर एजेन्जहरुको आम्दानीमा कमि भएतापनि उनिहरु खासै डुबेका छैनन्। यस क्षेत्र पनि ब्रोकरमैत्री छ। बेलाबेलामा ब्रोकरहरुको जिम्मा बैंकलाई दिने र ब्रोकर शुल्क घटाउने भनिएको भए पनि यतातिर खासै कदम चालिएको छैन्। शेयर बजार पनि उत्पादनमूलक क्षेत्र हैन। राज्यले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नको लागि सस्तो ब्याजदर र सहज रुपमा ऋण पाउने व्यवस्था नगरेकोले नै शेयर बजारको सेकेन्डरी बजारमा लगानीकर्ता हरुको बढी लगाव रहेको पाईन्छ।

यसरी जबसम्म हाम्रा आधारभूत आवश्यकता हरुको प्रवाहमा राज्यशक्तिकै आडमा दलालीकरण गरिएको हुनाले आलोचकहरु यसलाई दलाल पुँजीवाद भन्न रुचाउँछन्। तर अबको दुनियाँमा यसलाई आम उपभोक्तावादी बनाई गरिब जनताको पहुचमा गुणस्तरीय आधारभूत आवश्यकताहरु प्रवाह नगरेमा यस व्यवस्था बाट गरीबी घटाउन सकिने अवस्था छैन् । अन्तमा, पुजीवादी अर्थ व्यवस्थामा सबैकुरा राज्यले हात हाल्ने होईन। अन्य कुराहरुमा निजी क्षेत्रलाई पनि जिम्मेवारी दिएर देशको आर्थिक विकासमा सहभागी गराउनै पर्छ। तर जनताका आधारभूत आवश्यकता हरु माथिको व्यापारीकरण र दलालिकरण बन्द गरी राज्यले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, शान्ति सुरक्षा र पुर्वाधार को क्षेत्रमा मात्रै राम्रो गर्दै कृषि क्षेत्रमा वास्तविक किसानको पहिचान गरि सस्तो ब्याजदरमा कर्जा प्रबाह तथा अनुदान दिन सकेमा सेवाको प्रवाह प्रभावकारी हुने थियो कि ? देशमा बस्ने वातावरण निर्माण हुने थियो कि? यो महंगी र आर्थिक सुस्ती देशमा भएका अनुत्पादक क्षेत्रमा भएका लगानी को प्रतिफल हो। जब उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सकिन्छ, दैनिक उपभोग्य वस्तुहरुको उत्पादन बढाउन सकिन्छ गरीबी घटाउने बारेमा सोच्न सकिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका