डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुप्रसिद्ध गायक रामभक्त जोजिजूको ‘सिसा रहेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक

सुप्रसिद्ध गायक रामभक्त जोजिजूको ‘सिसा रहेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक

सुप्रसिद्ध गायक रामभक्त जोजिजूको ‘सिसा रहेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक

सुप्रसिद्ध गायक तथा सङ्गीतकार रामभक्त जोजिजूको ‘सिसा रहेछ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा आयोजित एक भव्य समारोहका बीचमा वरिष्ठ साहित्यकार सरुभक्तले उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । तेज श्रेष्ठ ‘अन्जान’ को रचनामा रहेको उक्त गीतमा रामभक्त जोजिजूले स्वर तथा सङ्गीत दिएका छन् ।
सञ्जीव पलद्वारा सङ्गीत–संयोजन गरिएको उक्त गीतको भिडियोमा झलक थापा, नरेश केसी, सुस्मिता बन्जारालगायतका कलाकारहरूको अभिनय रहेको छ । रामप्रसाद बाँस्तोलाको कथा निर्देशन र सन्तोष पराजुलीको सहनिर्देशनमा सजिएको उक्त म्युजिक भिडियोलाई दीपेश केसीले छायाङ्कन गरेका हुन् । प्रेमी र प्रेमिकाका बीचमा उमेरमा देखिएको भिन्नता र जातीयताका कारण आपसमा छुट्टिनुपर्दाको वियोगान्त कथावस्तुलाई उक्त म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियो सार्वजनिकीकरण समारोहमा गीतकार उमेश सिकेले रामभक्त जोजिजूको गायन तथा सङ्गीत यात्राका बारेमा सङ्क्षेपमा प्रकाश पारे । गीत–सङ्गीतका क्षेत्रमा गायक जोजिजूसँगको आफ्नो सहयात्राका बारेमा चर्चा गर्दै गीतकार सिकेले जोजिजू पोखरेली भूमिका नारायणगोपाल भएको दाबी गरे । चलचित्र निर्देशक घनश्याम लामिछानेले गीतका शब्दले मात्रै नभई अभिनयले पनि दर्शकको मन छुने दाबी गरे ।
समारोहमा विशेष अतिथिको आसनबाट बोल्दै रामभक्त जोजिजूको साङ्गीतिक यात्रालाई विगत साढे दुई दशकदेखि नजिकबाट नियाल्दै आइरहेका साहित्यकार एवम् समीक्षक कमल कोइरालाले जोजिजू पोखरेली भूमिले जन्माएका नेपाली सुगम सङ्गीतका उस्ताद भएको बताए । सार्वजनिक भएको गीतको दृश्य सामग्रीमाथि सटीक समीक्षा गर्दै साहित्यकार कोइरालाले युट्युबमा दिनहुँ लाग्ने गीतहरूको ओइरोमा ‘सिसा रहेछ’ बोलको गीतले पृथक् पहिचान स्थापित गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताउँदै गीतका स्रष्टा, गायक, सङ्गीतकार, निर्मातालगायत सम्बद्ध सबैप्रति व्यावसायिक सफलताको शुभकामनासमेत व्यक्त गरे ।
प्रमुख अतिथिको आसनबाट बोल्दै समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले गायक रामभक्त जोजिजूको सङ्गीत साधनालाई आफूले लामो समयदेखि नियाल्दै आइरहेको बताए । पोखरा पर्यटकीय दृष्टिले मात्रै नभई गीत–सङ्गीत र चलचित्र छायाङ्कनको समेत राजधानी भएको उनले दाबी गरे । ‘अनवरत साधनाले खारिएका जोजिजू नेपाली गायन आकाशका उज्याला नक्षत्र हुन् ।’ साहित्यकार सरुभक्तले भने, ‘उनको नयाँ गीति–सौगातले अवश्य पनि सबै श्रोता र दर्शकको मन छुनेछ ।’
समारोहमा प्रेमराज पौडेलले रामभक्त जोजिजूको चर्चित गीत ‘उडेर जून छुन्छु भन्थेँ’ बोलको गीत प्रस्तुत गरेर दर्शकको मन खिचे भने जेई म्युजिक एकेडेमी फूलबारीका अर्का प्रशिक्षार्थी संस्कार गौतमले ‘सिसा रहेछ’ बोलको गीतका अतिरिक्त भुपाली रागसमेत प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध तुल्याइदिए ।
समारोहमा प्रसिद्धि भुर्तेल, निआ श्रेष्ठ, साइरा गुरुङलगायतका बालबालिकाहरूले विभिन्न बोलका गीतहरू गाएर दर्शकलाई मनोरञ्जन दिलाए । कार्यक्रममा ‘मायालाई ढाका पछ्यौरी’ बोलको गीत गाएर दर्शकलाई मोहित पारेका प्रज्ञान बरालको गायनकलाको प्रशंसा गर्दै गीतकार उमेश सिकेले उनलाई नगद पुरस्कार पनि प्रदान गरे ।
समारोहमा गीति–सामग्री निर्माण कार्यमा योगदान पु¥याउने कलाकार तथा कार्यक्रम सफल पार्न सहयोग पु¥याउने व्यक्तिहरूलाई सम्मानसहित प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
जेई म्युजिक सपले गीत–सङ्गीतका क्षेत्रमा गर्दै आइरहेका कामहरूका बारेमा सङ्क्षिप्त प्रकाश पार्दै संस्थाकी कार्यकारी निर्देशक इतु जोजिजूले समारोहमा सहभागीहरूप्रति धन्यवाद ज्ञापन गरिन् । जेई स्टुडियो एन्ड म्युजिक सप, फूलबारीका प्रमुख कार्यकारी अधिकृत रामभक्त जोजिजूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अनुज कुलुङले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका