पोखरा । विश्व वातावरण दिवसको अवसरमा पारेर एसओएस हरमन माइनर विद्यालय गण्डकीमा कार्यरत पर्यावरण क्लवको संयोजनमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।
प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्व वातावरण दिवसका सन्दर्भमा यस वर्ष “प्लाष्टिक प्रदुषण बिरूद्ध लागौं” भन्ने नारा तय गरिएको थियो ।
गत वर्षबाट पोखरा माटेपानी स्थित ग्रिन रोड सँगको सहकार्यमा फोहोर बर्गीकरण र व्यवस्थापनको कार्य गरिरहेको बिद्यालयले “हरित विद्यालय परियोजना” अन्तर्गत बिभिन्न जनचेतनामूलक कार्य गर्दै आएको विद्यालयका प्राचार्य चूडामणि सुवेदीले बताए ।
विद्यालयमा सिकेको कुरालाई व्यवहारिक रूपमा घरमा र समुदायमा प्रयोग गर्नु पर्ने कुरामा जोड दिँदै आगामी दिनमा विद्यालयमा क्रियाशिल “पर्यावरण क्लव” थप क्रियाशिल हुनुपर्ने कुरा विद्यालयका सहायक प्राचार्य बीरसिंह बुढाले बताए ।
यसै क्रमममा कक्षा ६ देखि ८ सम्मका साथै “पर्यावरण क्लव” का विद्यार्थीहरूले विद्यालय परिसरमा बिभिन्न प्रजातीका बिरूवाहरू रोपे ।
विश्ववातावरण दिवसको अवसरमा यो पबित्र कार्यमा सहभागी हुनपाएकोमा प्रशन्नता व्यक्त गरिन् कक्षा ६ मा अध्ययनरत छात्रा सिजल खातिले ।
उक्त सरसफाई तथा बृक्षारोपण कार्यक्रममा शिक्षक, कर्मचारी तथा बिद्यार्थीहरूको स्वतः स्फूर्त सहभागीता रहेको थियो ।