२८ साउन, काठमाडौं । नेपालको दुई दिने भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू र सरकारका मन्त्रीहरूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका विदेश सचिव मिस्रीलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्। परराष्ट्र सचिव लम्सालकै निमन्त्रणामा विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणमा आएका हुन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार दिउँसो भारतीय विदेश सचिव मिस्रीले परराष्ट्र मन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा मन्त्री राणाले द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक र विकास सहायता तथा विभिन्न आयोजनाहरूका बारेमा कुरा उठाएकी छन्।
परराष्ट्र मन्त्री राणाले विदेश सचिव मिस्रीसँगको भेटमा मुख्य गरी पाँच विषय उठाइन्।
पहिलो, थप हवाई रूटसँग सम्बन्धित छ।
नेपाल-भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रूटको आवश्यकता पर्ने भन्दै मन्त्री राणाले यसबारे विदेश सचिवमार्फत् भारत सरकारसँग कुरा उठाइन्।
नेपालले लामो समयदेखि भारतसँग थप हवाई रूटको माग गर्दै आएको छ। नेपालमा अहिले एक मात्र हवाई रूट छ।
दोस्रो, तरकारी र फलफूल परीक्षण प्रयोगशालासँग सम्बन्धित छ।
परराष्ट्र मन्त्री राणाको सचिवालयले दिएको जानकारीअनुसार विदेश सचिव मिस्रीसँग परराष्ट्र मन्त्री राणाले तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापनामा भारतको पहलका लागि पनि कुरा उठाएकी हुन्।
मन्त्री राणाले नेपाल-भारत सीमा क्षेत्र हुँदै आयत हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशालाको अभाव रहेको कुरा राखेकी थिइन्।
तेस्रो, पञ्चेश्वरका बाँकी काम अघि बढाउने।
मन्त्री राणाले पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा पनि कुरा राखेकी छन्। यस आयोजनाबारे धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा मन्त्री राणा र विदेश सचिव मिस्रीबीच कुराकानी भएको हो।
चौथो, टनकपुर बाँध।
मन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा विदेश सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा राखेकी छन्।
‘विदेश सचिवसँगको भेटवार्तामा परराष्ट्र मन्त्रीले दार्चुलाको पुल उद्घाटनको प्रसंग पनि उठाउनु भएको छ,’ मन्त्रीको सचिवालयले भन्यो।
पाँचौं, व्यापार तथा पारवहन
भेटवार्तामा मन्त्री राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुरा उठाएकी छन्।
परराष्ट्र मन्त्री राणाले जाजरकोट भूकम्पमा परेका पीडितहरूको उद्धार र सहायताका लागि भारत सरकारले गरेको सहयोगमा धन्यवाद पनि दिएकी छन्।