भदौ,३१ पोखरा। नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार महिलाका निम्ति पुरस्कार स्थापना गरेको छ । पोखराका वरिष्ठ उद्योगपति, समाजसेवी एवं पूर्व मन्त्री हरि पाण्डेले उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् ।
महासंघ कास्की शाखाले संचालन गर्ने गरी मातृसेवा प्रतिष्ठान नेपालले ‘डा. शान्ति स्मृति महिला पत्रकारिता पुरस्कार’ कास्कीमा क्रियाशील पत्रकार महिलालाई वितरण गरिनेछ । यसबारे पत्रकार महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । पुरस्कार स्थापनबारे छिट्टै एक कार्यक्रम गरी घोषणा गरिने जनाइएको छ ।
हरि पाण्डे र उनकी धर्मपत्नी तुलसा पाण्डेकी साहिली सुपुत्री डा. शान्तिको २०६१ सालमा पोखरामा स्कुटर दुर्घटनामा मृत्यु भएको थियो । पाण्डे दम्पतीको आफ्नी छोरीको स्मृतिमा प्राविधिक विषयमा उच्च शिक्षा पढ्न महिलाका लागि विभिन्न छात्रवृत्ति समेत वितरण गर्दै आएको छ ।
महासंघ कास्की अध्यक्ष विमला भण्डारी नेतृत्वको टिमले पुरस्कार स्थापनाका लागि पाण्डेसँग प्रस्ताव गरेको थियो । पत्रकार महासंघ कास्की शाखाले बर्सेनि वितरण गर्ने करिब एक दर्जन पुरस्कारमा महिलाका लागि मात्र भनेर यसअघि कुनै पनि पुरस्कार थिएनन् । मिडिया क्षेत्रमा पत्रकार महिलाको संख्या कम्ती रहेको र यस क्षेत्रमा उनीहरुलाई टिकाइराख्न पुरस्कारले प्रोत्साहन मिल्ने अध्यक्ष भण्डारीले बताइन् । आफ्नो कार्यकाल समाप्ति हुँदै गर्दा कम्तीमा पत्रकार महिलाका लागि पुरस्कार स्थापना हुनु गर्वको विषय भएको उनको भनाइ छ ।
हाल ५ लाख बराबरको अक्षयकोष स्थापना गरी हरेक वर्ष २५ हजार ५ सय ५५ रुपैयाँ राशिको पुरस्कार वितरण गरिने महासंघ कास्कीले जनाएको छ । कास्की जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकार महासंघको सदस्य प्राप्त गरेको कम्तीमा १० वर्ष वा पत्रकारिता पेसामा १२ वर्षसम्म क्रियाशील पत्रकार महिलाले यो पुरस्कार प्राप्त गर्ने छन् । जसमा पत्रकारिता माध्यमबाट महिला सशक्तीकरण र स्वास्थ्य क्षेत्रमा योगदान गरेको व्यक्तिलाई योग्य ठानिने प्रारम्भिक कार्यविधि छ ।
उक्त पुरस्कार महासंघ स्थापना दिवस १६ चैत वा शान्ति पाण्डेको स्मृति दिवसमा एक समारोह आयोजना गरी वितरण गरिनेछ ।
महासंघ कास्कीले वितरण गर्ने जगन्नाथ सिग्देल युवा पत्रकारिका पुरस्कारको अक्षयकोष राशिमा ५ लाख रकम थप गर्ने निर्णय भएको छ । यसअघि ५ लाख रुपैयाँ रहेकोमा बढेर १० लाख पुगेको छ ।