डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • गण्डकीमा समानुपातिकतर्फका २२ जनाको उम्मेदवारी खारेज

गण्डकीमा समानुपातिकतर्फका २२ जनाको उम्मेदवारी खारेज

गण्डकीमा समानुपातिकतर्फका २२ जनाको उम्मेदवारी खारेज

पोखरा

गण्डकी प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीबाट २२ जनाको नाम हटाएको हो । गण्डकी प्रदेश सभाका लागि समानुपातिकतर्फ ३१ दलले पेश गरेको बन्दसूचीमा नाम समावेश ३ सय ६८ मध्ये तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका २२ जनाको नाम निर्वाचन आयोगले हटाएको हो ।

उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोधउपर जाँचबुझ गरी उम्मेदवारको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट उमेर नपुगेका ४ जनाको नाम सूचीबाट हटाएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐनमा सूचीमा पर्ने उम्मेदवारको उमेर २५ वर्ष पुग्नुपर्ने व्यवस्था छ तर सूचीमा परेका ४ जनाको उमेर २५ वर्ष नपुगेको भन्दै निर्वाचन आयोगले सूचीबाट हटाएको हो । जनमत पार्टीबाट समानुपातिक उम्मेदवार बनेकी सुस्मिता थापा, नेपाल जनता दलबाट उम्मेदवार बनेका देवकुमार परियार, मौलिक जरोकिलो पार्टीबाट उम्मेदवार बनेकी सुमित्रा परियार र लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेकी संगिता बोहोराको नाम उमेर नपुगेको भन्दै हटाएको हो ।

गण्डकी प्रदेशका मतदाता नभएका २ जना जनता समाजवादी पार्टी नेपालका भीमबहादुर मग्राती र नेपाली कांग्रेस (विपि) का पुनम तुलाचनको नाम सम्बन्धित प्रदेशका मतदाता नभएका भन्दै हटाउने निर्णय गरेको हो । प्रदेश सभा सदस्य निर्वाचन ऐनमा प्रदेशसभामा समानुपातिक वा प्रत्यक्षतर्फ उम्मेदवार बन्न सम्बन्धित प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले आयोगबाट लागेको जरिवाना नबुझाएका १५ जनाको नाम बन्द सूचिबाट हटाउने निर्णय गरेको हो । स्थानीय तहका निर्वाचनमा उम्मेदवार बनेका र समय निर्वाचन खर्च नबुझाएकालाई निर्वाचन आयोगले जरिवाना गरेको थियो । सोही जरिवाना नबुझाएका १५ जनाको नाम निर्वाचन आयोगले समानुपातिक बन्द सूचीबाट हटाएको हो ।

निर्वाचन आयोगले गण्डकी प्रदेश सभाका २२ सहित देशैभरबाट ५ सय ५० जनाको नाम समानुपातिक बन्द सूचीबाट हटाउने निर्णय गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि पेस भएको बन्द सूचीबाट उनीहरुको नाम हटाइएको हो ।

समानुपातिकतर्फ देशैबाट दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४ सय ५७ उम्मेदवारमध्ये निर्वाचन कानुन र निर्वाचन आचारसंहिताबमोजिम तोकिएको जरिवाना नबुझाउने ३ सय ६९ सहित उम्मेदवारको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगमा समानुपातिक विषय हेर्ने सहसचिव गुरु वाग्ले पार्टीहरुले उमेरसमेत नहेरी उम्मेदवारी दर्ता गराएको बताए । उनले भने, ‘कतिसम्म भने पुरुषलाई महिलातर्फको उम्मेदवार पनि बनाए, तिनीहरुको उम्मेदवार खारेज गरियो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका