२१ फागुन,धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अल्पमतमा रहेका शाहले नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर विश्वासको मत पाउने बताएका हुन् ।
उनले भने –‘प्रदेशमा सबै दलसंग छलफल भएको छ । सबै दलको साथ र समर्थनबाटै मैले विश्वासको मत लिने छु । सबै दलले सहयोग गर्ने विश्वास लिएको छु । यद्यपी समय–समयमा परिवर्तन भईरहने नेपाली राजीतिले के हुन्छ भन्न सकिदैन् ।’ उनले केन्द्रको राजनीतिक समिकरण अहिले आफनो पक्षमा रहेको बताए ।
प्रदेशमा नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र स्वतन्त्र प्रदेश सभा सदस्य गरि ४१ जनाको मत आफुले प्राप्त गर्ने बताए ।
उनले सञ्चार क्षेत्रलेनै परिवर्तनको सम्बाहक रहेकाले पत्राकारिता क्षेत्र निष्पक्ष, विश्वसनिय र यथार्थमा आधारित हुनुपर्ने बताए । उनले प्रदेशका विकट क्षेत्रका समस्या लगायतका बारेमा उजागर गर्न पनि सुझाव दिए ।
प्रदेश कार्य समितिका अध्यक्ष मनमोहन स्वाँरको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नेपाली काँग्रेसका प्रदेश सभा सदस्य, नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनार लगायतको सहभागिता रहेको थियो ।
नेपाल प्रेस युनियनका महासचिव टेकेन्द्र देउवाले स्वागत गरेको कार्यक्रमको सञ्चालन हरिश भट्टले गरेका थिए ।