डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पोखरा महानगरपालिका -२ का ज्येष्ठ नागरिकलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

पोखरा महानगरपालिका -२ का ज्येष्ठ नागरिकलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

पोखरा महानगरपालिका -२ का ज्येष्ठ नागरिकलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

पोखरा ।ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका वडा नं. २ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक शिविरबाट लाभान्वित भए । स्वास्थ्य शिविरमा २२६ जनाले सेवा लिएको वडाध्यक्ष दिबसमान प्रधानाङ्गले जानकारी दिनुभयो ।

शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवि गुरुङले उमेर पुगेका ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण गरी निगरानीमा राख्न सके उनीहरूको आयु बढाउन सकिने बताउनुभयो । ज्ञान र अनुभव सहितको अभिभावकत्व परिवारका लागि आवश्यक पर्ने भन्दै उहाँले ज्येष्ठ नागरिकहरूलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।वृद्ध उमेरका उनीहरूलाई गरिने व्यवहारमा सम्मान र हार्दिकता हुनु पर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्य मानव जीवनको पहिलो प्राथमिकताको विषय भएकाले आम नगरवासीहरूको स्वास्थ्य सुरक्षा प्रति महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । महानगरपालिकाका हरेक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेतबाट नागरिकहरूलाई सरल र सुलभ सेवा प्रदान गर्ने कार्यमा महानगरपालिका लागि रहेको उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । उनीहरूको स्वास्थ्य पहुँच सहज नहुने, आफै अस्पताल जान नसक्ने र नियमित स्वास्थ्य परीक्षणको सुविधाबाट वञ्चित भएका ज्येष्ठ नागरिकहरूलाई वडामा नै सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।  शिविरमा बिरामीको सुगर, प्रेसर, मृगौला र मुटुको परीक्षण गरिएको थियो । निःशुल्क भिडियो एक्सरे र इसीजी परीक्षणसँगै सम्बन्धित रोगका विशेषज्ञ डाक्टरमार्फत स्वास्थ्य परीक्षण सहित १ महिनालाई पुग्ने औषधी समेत निःशुल्क पाएपछि ज्येष्ठ नागरिक खुशी देखिन्थे ।

पोखरा महानगरपालिका क्षेत्रमा रक्तचापको समस्या पहिलो र मधुमेहको समस्या तेस्रो नम्बरमा रहेको छ । यसको नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिन अध्यक्ष प्रधानाङ्गले  सुझाव समेत दिनुभयो ।

कार्यक्रममा सदस्य तथा सहरी स्वास्थ्य केन्द्र २ को सञ्चालन तथा व्यवस्थापन समितिकी उपाध्यक्ष गोमा सुवेदी र सचिव याचना श्री खवास लगायतले स्वास्थ्य सचेतना र ज्येष्ठ नागरिकहरूको स्याहार सुसारका सन्दर्भमा विशेष ख्याल गर्न आग्रह गर्नुभएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका