१६ माघ । चीनले २० जनवरीमा सार्वजनिक गरेको नयाँ एआई मोडेल डीपसीक ले अहिले तहल्का पिटेको छ । डीपसीक च्याट जिपिटी जस्तै एआइ टुल हाे । उक्त टुल चिनिया नागरीक लियाङ वेनफेङ ले बिकास गरेका थिए ।
प्रविधि जगतमा सर्ज इन्जिनको बादशाह गुगल, च्याटजीपीटी, गुगल जेमिनाईलगायत अन्य जेनरेटीभ एआई मोडललाई पछाडि पार्दै सबैभन्दा धेरै डाउनलोड भएपछि ‘डीपसीक’ नामक यो मोडेलले अमेरिकाको सिलिकन भ्याली मात्रै होइन विश्व जगतमा हलचल मच्चाइदिएको हो ।
गुगल र ओपनएआईले वर्षौं लगाएर करोडौं डलर खर्चेर बनाएको एआई मोडेललाई डीपसीकले केवल दुई महिनामै ६० लाख डलरभन्दा कम खर्चमा तयार पारेपछि डीपसीकको चर्चा एकाएक चुलिएको अन्तर्राष्ट्रिय सञ्चारमाधयमहरूले उल्लेख गरेका छन् ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘जित्नका लागि प्रतिस्पर्धा’मा ध्यानकेन्द्रित गर्ने अमेरिकी कम्पनीहरूका लागि ‘वेक अप कल’ बताए झै डीपसीकले यस्तो एउटा उत्कृष्ट ओपन सोर्स मोडेल प्रस्तुत गरेको छ, जसले विश्वमा सबैभन्दा धेरै चिप बनाउने प्रविधि कम्पनी एनभिडियाले आफ्नो बजार मूल्यको लगभग ६०० बिलियन डलर गुमाउनुपरेको छ ।
यो अमेरिकी इतिहासमा एक दिनमा सबैभन्दा ठूलो घाटा हो । एशोसिएट प्रेसले उल्लेख गरेअनुसार एनभिडियाले एकै दिन १७ प्रतिशत सेयर कारोबार गुमाउनुपरेको छ । यस्तै, अमेरिकी शेयर बजार नासडाकमा पनि एनभिडियाजस्तै अन्य कम्पनी पनि आफ्नो ३.१ प्रतिशत गुमाउन बाध्य भएका छन् ।
कसरी भयो डीपसीकको उदय ?
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी हाङजाउ डीपसीक आर्टिफिसियल इन्टेलिजेन्स प्रालिले डीपसीकलाई सुरूमा ओपन सोर्समा लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) भनेर विकास गर्यो । कम्पनी चीनको हान्जाउस्थित जेजियाङमा रहेको छ भने यसका संस्थापक हुन् ४० वर्षीय लियाङ वेनफेङ ।
उनी सन् २००७–२००८ मा जेजियाङ विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा वित्तीय संकटको सामना गर्नुपरेको थियो। यसलाई उनले समाधान गर्न सन् २०१६ को फेब्रुअरीमा हाइ–फ्लायर एआई भनेर स्थापना गरे । त्यसपछि यसैलाई उनले विस्तारै एआई ट्रेडिङ एल्गोरिदमको विकास र प्रयोगमा केन्द्रित गरे ।
सन् २०२१ सम्म हाइ–प्लायरले आफ्नो व्यापारमा विशेष रूपमा एआईको भरपुर प्रयोग गर्यो । उनको यो प्रयोग सफलतातर्फ बढ्न थालेपछि उनी आफैं सन् २०२३ मा कार्यकारी निर्देशक भएर काम गर्न थाले ।
जब यसले च्याटजीपीटीको रूपमै आफ्नो काम सुरू गर्यो र टुल्सहरू बनाउन थाल्यो अनि लियाङले हाई–फ्लाइलाई नामाकरण गरे डीपसीक । त्यतिबेला उसले ६ मिलियन अमेरिकन डलरमै यसलाई विकास गरिदियो जतिबेला ओपन एआईले १०० मिलियन डलर खर्चेर च्याटजीपीटी–४ बनाएको थियो । लियाङले बनाएको यो च्याट जीपीटीले एलएलएम प्रोग्राममार्फत १० गुणा बढी काम गर्न थाल्यो ।
डीपसीकले सन् २०२३ को नोभेम्बर २ मा पहिलोपटक आफ्नो सिरिज मोडल सार्वजनिक गरेको थियो, जसमा अनुसन्धानकर्ता र व्यापारमुखी प्रयोगकर्ताका लागि निःशुल्क रूपमा खुल्ला गरिएको थियो । यसको मोडल एमआईटी लाइसेन्सअन्तर्गतको ओपन सोर्समा आधारित रहेको थियो ।
त्यसपछि २०२३ को नोभेम्बर २९ मा डीपसिकले एलएलएम मोडेलका सिरिजहरू पनि सार्वजनकि गर्यो, जसमा ७ बी र ६८ बी प्यारामिटर्सहरू राखियो । एलएलएमएसमा विकसित यो प्रोग्राम पछि लालमा २ बनेर आयो, जसले आफ्नै एमआईटी लाइसेन्स प्राप्त गर्यो ।
यहाँसम्म आइपुग्दा डीपसीकले आरएमएसएन नोर्मस, रोटरी पोजिनसल इम्बेडिङ (रोप), ग्रुप्ड क्वेरी एटेन्शन (जीक्यूए) र १०२४४०० साइजमा भोक्याबलरी र ४०९६ साइज लेन्थ बनाइसकेको थियो । यसले करिब २ अर्ब टोकन अंग्रेजीमा र चिनियाँ भाषामा नक्कल गर्न सक्ने गरी तथ्याङ्क तयार पारिसकेको थियो ।
सन् २०२४ को अप्रिलमा तेस्रोपटक मोडल भी २ सिरिज सार्वजनिक गरियो जसमा ४ मोडल, २ वटा बेस मोडलहरू र २ वटा च्याटबटहरू समाहित थिए । ती मोडल र टोकनहरूले अंग्रेजीभन्दा चिनियाँ भाषामा १२ प्रतिशत बढी काम गर्ने गरेको थियो । त्यसपछि आरएल मोडल, भी २ लाइट, भी २, भी ३ मोडलहरू क्रमशः आए ।
जब सन् २०२४ नोभेम्बर २० मा आर वान मोडल आयो । त्यसपछि डीपसिकले लजिकल, म्याथम्याटिकल र रियल टाइम प्रब्लम्स सल्भिङ एआई प्रोग्राम लिएर आयो । यसले विश्वका ठूला जेनेरेटिभ एआई टुल्स, ओपन एआई, गुगल जेमिनीका सबै टुल्सहरूलाई पछाडि पारिदियो ।
यो प्रविधिमा आएको फड्कोले सिलिकन भ्यालीलाई नै स्तब्ध बनाइदिएको छ । यसको विकासित स्वरुपले अमेरिकाका शीर्ष एआई अनुसन्धानकर्तालाई समेत छाँगाबाट खसाइदिएको छ ।
डीपसीकले यसको तेस्रो भर्सन बनाउन केवल ५६ लाख डलर खर्च गरेको दाबी गरेको । यसको तुलनामा ओपनएआईले वार्षिक ५ अर्ब डलर खर्च गरिरहेको छ ।
यता, गुगलले सन् २०२४ मा ५० अर्ब डलरभन्दा बढी खर्च गरेको अनुमानित रिपोर्ट बाहिर आएको छ । तर, माइक्रोसफ्टले ओपनएआईमा लगानी गर्न मात्रै १३ अर्ब डलरभन्दा बढी खर्च गरेको छ ।
डीपसीकको मोडेलले कसरी यति कम लागतमा अमेरिकाका महँगा मोडेलहरूलाई उछिन्यो भन्ने कुरा झनै आश्चर्यजनक छ । डीपसीकको नयाँ मोडेलले एकदमै प्रभावकारी रूपमा ओपनसोर्स मोडेल बनाएको छ । यो सुपर कम्प्युटरमा एकदमै कुशल छ ।
यसले मेटाको एललामा, ओपनएआईको जीपीटी ४–ओ र एन्थ्रोपिकको क्लाउड सोनेट ३.५ लाई गणितका समस्या, कोडिङ प्रतियोगिता र कोडमा बग पत्ता लगाउने परीक्षणमा समेत जितेको छ । यति मात्र होइन, डीपसीकले तर्क दिन सक्ने नयाँ आर वान मोडेल जसले ओपनएआईको अत्याधुनिक ओ–वनलाई समेत केही परीक्षणमा उछिनिदिएको छ । आर वान मोडल लजिक, म्याथम्याटिकल र प्रत्यक्ष रूपमा समस्याको समाधान गर्न सक्ने गरी सजिलै काम गर्नसक्छ ।
यो प्लेटफर्मले तीव्र गतिमा प्रयोगकर्ता तयार पारिरहेको छ । एसोसिएट प्रेसका अनुसार यो एप अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ । यसअघि च्याटजीपीटीले उक्त रेकर्ड बनाएको थियो । यता, चीनमा डीपसीक एप सबैभन्दा धेरै डाउनलोड हुने स्थानमा छ ।
चीनमाथिको अमेरिकी सेमिकन्डक्टर प्रतिबन्ध लगाए पनि डीपसीकले सबैलाई पछाडि पार्दै एक नम्बरमा पुग्न सफल भएको हो । अमेरिकाले चीनलाई शक्तिशाली चिप जस्तै एनभिडीयाको एच–१०० जीपीयू पाउनबाट रोक लगाएको छ । उसको यो चिपलाई प्रतिस्पर्धी एआई मोडेल बनाउन आवश्यक मानिन्छ । तर, डीपसीकले एनभिडियाको कम शक्तिशाली एच–८०० प्रयोग गरेरै नयाँ मोडेल बनाइदियो ।
चीनको यो सफलताले अमेरिकी एआई प्रयोगशालाहरूको अग्रतालाई कमजोर पारेको छ । सन् २०२४ को सुरुवातमा गुगलका पूर्व सीईओ एरिक स्मिडले चीन एआईमा अमेरिकाभन्दा दुईदेखि तीन वर्ष पछाडि रहेको बताएका थिए । तर, अहिले उनी आफ्नो विचार नै फरक भएको बताउन थालेका छन् । ‘सुरूमा हामी चीनभन्दा केही वर्ष अगाडि छौँ भन्ने सोच्थ्यौं । तर, चीनले पछिल्लो ६ महिनामा जुन गतिमा प्रगति गरेको छ, त्यो आश्चर्यजनक छ । यसमा रहस्य नै छ की कसरी चीनले तीव्र गतिमा प्रगति गर्यो ?,’ उनले भनेका छन् ।
यता, पछिल्लो दुई सातामा एआई अनुसन्धान टोलीले कम पुँजीमा पनि धेरै सम्भावना देखेका छन् । डीपसीकले सिलिकन भ्यालीमा १५ देखि ३० मिलियन अमेरिकी डलरमा पनि केही गर्न सकिन्छ भन्ने प्रमाणित गरिसकेको छ अर्थात ओपनएआई जस्तो कम्पनी पछि शीर्ष स्थानमा नरहन सक्छ ।
डीपसीकले विद्यमान एआई प्रविधि, डेटा सेट र मोडेलहरू प्रयोग गरेर छोटो समयमै प्रत्यक्षमा रूपमा प्रतिस्पर्धा गर्नसक्ने बनाइदिएको छ । जब तपाईंले डीपसीकलाई तिमी कुन मोडेल हौ ? भनेर सोध्नुहुन्छ, उसले जवाफमा भन्छ, ‘म जीपीटी–४ आर्किटेक्चरमा आधारित ओपनएआईद्वारा सिर्जना गरिएको एआई ल्याङ्ग्वेज मोडेल हुँ ।’
यसबाटै थाहा हुन्छ की डीपसीक र च्याटजीपीटीबिचको फरकलाई नै आकाश र जमिनको रहेको छ ।
पछिल्लो लगानीको क्रममा ओपनएआईले ६ अर्ब डलरभन्दा बढी उठाए पनि डीपसिकले अहिलेसम्म नाफा भने कमाएको छैन । कम्पनीको मुख्य व्यवसाय एआई मोडेल निर्माणमा केन्द्रित भएकाले गुगल र अमेजन जस्ता कम्पनीहरूको तुलनामा यो बढी जोखिममा छ ।