मुस्ताङ्
धार्मिक ऐतिहसिक र प्राकृतिक भू–बनोटका हिसाबले महत्वपूर्ण मानिएको हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
समुन्द्र सतहबाट ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको निलगिरी हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित यो मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्न थालेको हाे । नेपालको मरुभूमि भनेर चिनिने मुस्ताङका फुस्रा डाँडा, भौगालिक विकटता, दिउँसोकाे हावाले मान्छे नै उडाउँला जस्तो र टाउकामा नै देखिने सेता हिमालका दृश्य आदिले पर्यटकहरुको मन लोभ्याउने गरेकाे छ ।
वर्षको दुई सिजन मात्रै व्यापार गर्न पाउने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटल तथा अन्य व्यवसायीहरू सिजनको समयमा पर्यटक वृद्धि हुँदा उत्साहित भएका छन् । मुक्तिनाथमा दर्शन गर्न जाने धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटकको संख्या बढेसँगै मुस्ताङका होटलहरूमा विदेशी र आन्तरिक पर्यटनहरूको भीड देखिन थालेको मुस्ताङका स्थानीय व्यवसायीहरू बताउँछन् ।
व्यवसायीहरूले विशेष गरी मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको बढी चाप देखिएको छ । सामान्य अवस्थाको तुलनामा दशैं र तिहारपछि मुस्ताङका होटलहरूको अकुपेन्सी दर ८० प्रतिशत भन्दा माथि पुगेको मुक्तिनाथ क्षेत्रका होटल व्यवसायीहरू बताउँछन् ।
मुस्ताङ भ्रमणका लागि अहिलेको समय सबै भन्दा उपयुक्त भएकाले पनि आन्तरिक पर्यटन बढेको देखिन्छ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्यटकीय सिजनसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल समेत बाक्लो रहेकाे छ ।पर्यटकहरूको चहलपहल बढेअनुसार पछिल्लो समय मुस्ताङको मुक्तिनाथ क्षेत्रमा होटल तथा अन्य पर्यटन पूर्वाधारको विकास र विस्तार पनि बढ्दै गएको छ ।
मुस्ताङमा पर्यटन पूर्वाधार विकास र विस्तार तीव्र रूपमा हुँदै जाँदा मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध धर्मालम्बीहरूको धार्मिक तीर्थस्थल तथा ट्रेकिङ पर्यटकको लागि प्रमुख गन्तव्य बन्न सक्छ ।