पोखरा।
पत्रकार कमल पौडेल अथक तीर्थसागर स्मृति पत्रकारिता पुरस्कार २०८० वाट पुरस्कृत भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको पाँचौ वार्षिक साधारण सभाको अवसरमा शनिवार पोखरामा आयोजित कार्यक्रममा अथकलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो । विगत दुई दशक भन्दा बढी पोखरामा पत्रकारिता गर्दै आएका अथक रेडियो, पत्रिका, टेलिभिजन, अनलाइनमा काम गर्दै आएपनि हाल उनी रेडियो सराङकोटलाई समाचार प्रमुख एवं समदृष्टि डटकमका प्रधानसम्पादक रहेका छन् ।
पत्रकार अथकले पत्रकारिताको माध्यमबाट लोकदोहोरीको क्षेत्रमा कलम चलाएको भन्दै सो पुरस्कारको लागि यो वर्ष उनलाई छनौट गरिएको प्रतिष्ठानका अध्यक्ष राजन कार्कीले जानकारी दिए । हामीले गण्डकी प्रदेशभरिबाट लोकदोहोरी गीतको क्षेत्रमा कलम चलाउने उत्कृष्ट पत्रकारको रुपमा यो वर्ष पोखराका पुराना पत्रकार कमल पौडेल अथकलाई छनौट गर्न सफल भएका छौं उनले भने । प्रतिष्ठान गण्डकीका संरक्षक एवं बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली र संस्थाका अध्यक्ष राजन कार्कीले पत्रकार अथकलाई दोसल्ला, चेक र सम्मान पत्रले पुरस्कृत गरे ।
सो अवसरमा बोल्दै संरक्षक प्रजापति पराजुलीले लोक तथा दोहोरी गीतको नजिक रहेर प्रतिष्ठानको उन्नयन र विकासको लागि कलम चलाउने एक कुशल पत्रकार सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले हरेक कुरामा दुःख र परिश्रमले मात्र उचाइमा पुर्याउने बताए । अहिले दोहोरीमा लाग्नेहरूले आफू अनुशासनमा बस्दै राज्यले दिने सेवा सुविधाको बारेमा पनि ध्यान दिन आग्रह गरे । पुरस्कृत पत्रकार कमल पौडेल अथकले आफ्नो यात्रा सुरुमा लोकदोहोरी नै भएको स्मरण गरे । पेशाले पत्रकारिता नै गरेपनि लोक तथा दोहोरी गीतमा उत्तिकै रुचि रहेको र यसलाई आफूले कहिल्यै नभुल्ने उनले बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाका पूर्व उपाध्यक्ष रहेका अथकका जाउँलाबाटो भरतपुरको, भीरमा लौसीबोट, कतागयौ फूल कुचँदै, मुटु जलाम्दै, रोएकी चेली लगायतका लोक तथा दोहोरी गीतको साथै गीत गजल, हाइकु खण्डकाव्य, उपन्यास गरी डेढ दर्जन बढी साहित्यिक कृति प्रकाशित छन् ।
सोही अवसरमा संस्थाले नरबहादुर स्मृति पत्रकारिता पुरस्कार २०८० बाट लोक दोहोरी गायिका सरस्वती परियारलाई पुरस्कृत गरेको छ । दोसल्ला, चेक र सम्मान पत्रले उनलाई पुरस्कृत गरेको हो । पत्रकारिता र लोकगायन विधा गरी यी दुबै पुरस्कार प्रतिष्ठान गण्डकीले सञ्चालन गर्दै आएको छ । संस्थाका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लोकगायिका शान्ती गुरुङ, प्रतिष्ठानका संरक्षक यमबहादुर गुरुङ, केन्द्रीय सचिव त्रय जीवन दाहाल, शंकरविरही गुरुङ, घनश्याम रिजाल निवर्तमान अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठान नवलपरासी अध्यक्ष बुद्धीनाथ घिमिरे, बरिष्ठ उपाध्यक्ष माया गुरुङ र सचिव रामजी पौडेल लगायतले बोलेका थिए । सो अवसरमा संस्थाले अध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदन पास गरेको सचिव पौडेलले जानकारी दिएका छन् ।