डिजिटल पत्रिका
मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • कास्की ३(क) का मतदाताहरुले राजनीतिमा नयाँ अनुहार खोज्नुभएको छ : खेम प्रसाद तिमिल्सिना

कास्की ३(क) का मतदाताहरुले राजनीतिमा नयाँ अनुहार खोज्नुभएको छ : खेम प्रसाद तिमिल्सिना

कास्की ३(क) का मतदाताहरुले राजनीतिमा नयाँ अनुहार खोज्नुभएको छ : खेम प्रसाद तिमिल्सिना

पोखरा

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौनक विस्तारै बढ्दो छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु घरदैलोमा व्यस्त देखिन्छन् । जनताको समस्या सुन्ने र आफ्नो प्रतिबद्धता सुनाउने उनीहरुको अहिलेको दैनिकी नै बनेको छ । यसै क्रममा हामीले  कास्की क्षेत्र नं ३(क) बाट प्रदेश सभा सदस्यका रुपमा लौरो चुनाव चिन्ह सहित उम्मेदवारी दिनुभएका खेम प्रसाद तिमिल्सिना सँग कुराकानी गरेका छौं:

गण्डकी प्रदेश सभा सदस्यका रुपमा तपाईको उम्मेदवारी किन ?

लामो समय दलीय राजनीति हामीले हेर्यौं, भोग्यौं । अब जनता परिवर्तन चाहन्छन् । स्थानीय निर्वाचनले जनताको अपेक्षालाई बुझाएको छ । राजनीतिमा अब युवा आउनुपर्छ । युवाले नै देशको भविष्य कोर्न सक्छ। रहयो मेरो उम्मेदवारीको कुरा । म परिवर्तनका लागि राजनीतिमा आएको हुँ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका नागरिकका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने भिजन सहित चुनावी मैदानमा होमिएको हुँ । मलाई विश्वास छ जनताले यसपाली आफ्नो मन र मत दुवै बदल्नुहुनेछ ।

कास्की ३(क) मा गठबन्धन र एमालेको पनि राम्रै बर्चस्वो देखिन्छ, चुनाव जित्नुहुन्छ त ?

घरदैलो गर्दा मतदाताहरुमा पार्टी प्रति र पुराना पार्टिका पुरानै  अनुहार प्रति जनताको वितृष्णा पाएको छु । कास्की ३(क) का मतदाताहरुले राजनीतिमा नयाँ अनुहार खोज्नुभएको छ । गठबन्धन र एमालेको पकड भएता पनि मलाई के लाग्छ भने उहाँहरुकै मत काटेर मैले निर्वाचन जित्नेछु । जनताका आश्वासनले ढुक्क बनाएको छ ।

व्यापार र व्यवसाय राम्रै हुँदैथ्यो राजनीतिमा किन आउनुपरेको ?

बिगतमा राजनीतिक दल र राजनीतिक दलका नेताहरुले जनता र देश प्रति गरेका क्रियाकलापले नै मलाई राजनीतिमा आउन बाध्य बनायो । जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न पनि नसक्ने नेपालका कुनै पनि दलहरुको अब काम छैन ।पुराना पार्टिमा पनि युबा पुस्तास अगाडि बढेको देखिएन  युबा बिकासका सम्बाहक हुन युबा राजनितिमा आउनुपर्ने देखियो र देशको समृद्दि र बिकासको लागि युबाको भुमिका ठुलो रहन्छ भन्ने लागेपछि म राजनीतिमा आएको हुँ ।

प्रदेश बनाउने तपाईका एजेण्डा के हुन् त ?

गण्डकी प्रदेश कला र संस्कृतिको धनि प्रदेश हो । जसको प्रचारप्रसारले अन्तराष्ट्रिय पर्यटन क्षेत्रमा टेवा पुग्न सक्छ । यहाँको भौगोलिक बनोट पनि पर्यटकलाई लोभ्याउने छ । पर्यटन क्षेत्रबाट नै आर्थिक समृद्धिको बाटो खुला हुन सक्छ । उद्यमशीलतामा जोड गरी रोजगारीको सिर्जना गर्न सकिन्छ । युवाहरुलाई विदेश पलायन हुन बाट जोगाउन सकिन्छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्न बाँकी छ । सामान्य भन्दा सामान्य उपचारका लागि अझै पनि काठमाडौंको भर पर्नुपर्छ । व्यवसायिकमैत्री नीति निर्माण गर्दै व्यवसायीहरुका समस्यालाई समेत सम्बोधन गर्ने एजेण्डा लाई आत्मसात् गर्दै अगाडि बढेको छु ।

एजेण्डा त लगभग मिल्दो जुल्दो भेटियो फरक खासै छैन पुरा गर्न सकिन्छ त ?

एजेण्डा मिल्दोजुल्दो नै हुन्छ । काम गर्नुपर्यो नि पुरा गर्न । निर्वाचित भएपश्चात राजासाप भएर बस्नुभएन । जनताको घरदैलोमा पुग्नुपर्यो । समस्या बुझी समाधानको बाटो खोज्नुपर्यो । पाँच वर्षमा एक दिन मात्र भोट माग्न जनताको दैलोमा जाने त्यसपछि फर्केर नहेर्ने प्रवृतिको अब अन्त्य हुनुपर्छ । म त्यसो गर्दिन । निर्वाचित भएपछि पनि जनताको आधारभूत आवश्यकतालाई पुरा गर्ने प्रण गर्दछु ।

तपाईको क्षेत्र ग्रामीण भेग देखि शहरी भेग पर्छ, घरदैलोका क्रममा जनताले समस्या के के राखेका छन् त ?

ग्रामीण भेगमा बाटोको नै समस्या छ । माछापुच्छे गाउँपालिका, पोखरा महानगरपालिकाका ठाउँहरु मेरो क्षेत्रमा पर्छन । कतिपय ठाउँमा बाटोको सबै भन्दा बढी समस्या स्थानीयले देखाउनुहुन्छ । कतिपय ठाउँमा खानेपानीको समस्या देखिन्छ । कृषि क्षेत्रमा समेत सम्भावनाका बोकेका स्थानहरु छन् जसलाई बेवास्ता गरिएको छ । शिक्षाको क्षेत्रलाई समेत सुधार गर्नुपर्ने समस्या जनताका छन् । जसलाई क्रमबद्ध रुपमा पूरा गर्ने प्रतिबद्धता मेरो हो ।

अन्त्यमा आफ्ना मतदाताहरुलाई के भन्नुहुन्छ ?

मेरो मतदाताहरुलाई त एउटै आग्रह छु । धेरै पटक हसिया हथौडा, कलम, रुख र सुर्य चिन्हमा मतदान गर्नुभयो । एकपटक लौरोलाई विश्वास गर्नुस् । लौरो यहाँहरुको भरोशा बनेर संसदमा उभिनेछ । परिवर्तन आफैबाट सुरु गरौं । जहिले दलका नेताहरुलाई जिताएर तपाईले के पाउनुभयो ? एक पटक आफैले आफैलाई फर्केर हेर्नुस् । तपाईको मतमा नै तपाई र तपाईको सन्ततिको भविष्य कोरिएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशको सभाको निर्वाचनमा लौरो चिन्हमा मतदान गर्न सम्पूर्णलाई आग्रह गर्दछु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका