डिजिटल पत्रिका
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • पोखरा म्याराथन सँग जोडिँदा पर्यटन व्यवसायी खुसी

पोखरा म्याराथन सँग जोडिँदा पर्यटन व्यवसायी खुसी

पोखरा म्याराथन सँग जोडिँदा  पर्यटन व्यवसायी खुसी

पोखरा।नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ५ गते पोखरामा आयोजना हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि बिहीबार अन्तत्र्रिया कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले म्याराथनलाई पर्यटकीय क्षेत्र लेकसाइडमा समापन गर्ने योजनाको स्वागत गर्दै आभार व्यक्त गरे । पोखरा पर्यटनका लागि मात्र नभई खेलकुदका लागि समेत उत्कृष्टस्थल रहेकाले अबको यात्रा खेल पर्यटनको रहेको सुनाए ।

‘यति ठूलो प्रतियोगिताको समापन हल्लनचोकको क्याम्पिङ चोकमा समापन गर्न लाग्नु भएको छ, यसमा हामी पर्यटन व्यवसायी आभार व्यक्त गर्दर्छौ । यो इभेन्टले पोखरालाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘हामी पर्यटन व्यवसायी वा यस व्यवसायीसँग आबद्ध संघ संस्थामात्र होइन यहाँ आबद्ध नभएका संघ संस्थालाई समेत जोड्ने प्रतिबद्धता व्यक्त गर्दछाैं ।’ म्याराथनलाई सफल बनाउन आर्थिक, भौतिक रुपमा सहयोग गर्न तयार रहेको उनले सुनाए ।

परिषदका पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले म्याराथनको रुटले पर्यटकलाई थप आकर्षित गर्ने बताए । म्याराथन खेलमात्र नभई पोखराको पर्यटनलाई ब्रान्डिङ गर्ने सुनौलो अवसर रहेको उनको भनाइ थियो । आफूहरुलाई आयोजकले आवश्यक सहयोग मागेर केही काम दिए त्यो पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले म्याराथनका लागि संस्थागत मात्रै नभई व्यक्तिगत सहयोग गर्ने बताए । उनले पर्यटनको लागि अफ सिजनको समयमा भएको म्याराथनले पोखराको पर्यटन व्यवसायलाई ठूलो सहयोग पुग्ने सुनाए ।

पोखरा उद्योग वाणिज्य संघका पर्यटन संयोजक राम कँडेलले अबको पर्यटन खेल पर्यटन रहेकाले पर्यटन व्यवसायीहरुले खेलकुदलाई समेत सहयोग गर्नुपर्ने सुनाए । पोखरा पर्यटन परिषदका द्वितीय उपाध्यक्ष तारानाथ पहारीले म्याराथनलाई कसरी सफल बनाउने भन्नेतर्फ आफुहरु रहेको सुनाए ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरामा खेलकुदको गतिविधि भइरहँदा पर्यटनलाई समेत ठूलो टेवा पुग्ने बताउँदै म्याराथनलाई पर्यटनसँग जोड्दै नयाँ रुटमा दौड हुने बताए । म्याराथनमा विभिन्न राष्ट्रका धावकहरुको उपस्थिति रहने भएकाले पर्यटन क्षेत्रलाई समेटेर अघि बढ्ने लक्ष्यका साथ अघि बढेको उनले सुनाए । मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्चको स्थापना, उदेश्य र म्याराथनको बारेमा प्रस्तुति दिएका थिए ।

गुरुङले नेपालमा धेरै म्याराथन नीजि संस्थाले गर्दै आए पनि पोखरा म्याराथन सामाजिक संस्थाले गरेका कारण यसको महत्व अझ बढिरहेको बताए । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले एथलेटिक्स खेलहरुको मेरुदण्ड रहेको र एथलेटिक्सकै म्याराथन हरेक सहरमा सिटी म्याराथनको अवधारणा अनुरुप अघि बढेकाले आफूहरुले पनि म्याराथनको आयोजना गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका