डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चार जगतको उल्लेखनीय योगदान :मुख्यमन्त्री पोखरेल

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चार जगतको उल्लेखनीय योगदान :मुख्यमन्त्री पोखरेल

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चार जगतको उल्लेखनीय योगदान :मुख्यमन्त्री पोखरेल

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालको हरेक सवालमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि सञ्चार जगतले उल्लेखनीय योगदान दिएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीको १६ औं साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले प्रेसमाथि अंकुश लगाउने काम कहि कतैबाट पनि हुन हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो।

सरकारले गरेका जनहित विपरीतका गतिविधिमा सधैं खबरदारी गर्न र कलम चलाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना कहरमा मिडियाले खेलेको भूमिका कहिल्यै भुल्न नसकिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पोखराको पत्रकारिताले देशमा नै हलचल गर्ने बताउनुभयो । राज्यले प्रेस स्वतन्त्रतालाई अझै पनि संकुचित बनाउने प्रयास गरिरहेको भन्दै यसका लागि महासंघले खबरदारी गर्नुका साथै पत्रकारको हक हित र सुरक्षामा विशेष ध्यान दिने स्पष्ट पार्नुभयो ।

पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघसंग सधै साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विना सिलवाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पूण्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा लगायतले भनाई राख्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना कहरले सञ्चार क्षेत्रमा ठूलो असर पुर्याएको बताउनुभयो । पत्रकार महासंघले कास्कीका पत्रकारहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै महासंघको गरिमालाई उचो बनाउने काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद तिमल्सेनाले धन्यवाद ज्ञापन र कार्यक्रम सञ्चालन सचिव माधव प्रसाद बरालले गर्नुभयो ।

विभिन्न प्रस्ताव पारित
साधारणसभाले नेपाल पत्रकार महासंघ कास्की शाखाले संस्थागत सुशासन र पारदर्शिता कायम गर्दै सदस्यता शुद्धिकरणलाई निर्ममताका साथ कार्यान्वयन गर्ने, न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराउन सबै सञ्चार गृहसंग अपिल गर्दैै निरन्तर अनुगमन र खबरदारी गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता पूर्णरुपमा पालना गर्नका लागि सबै पत्रकारहरुलाई अपिल गर्दै आचारसंहिता पालना भए, नभएको अनुगमन गरि आगामी साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्ने, पत्रकार महासंघको सचिवालय अपांगमैत्री बनाउने र कास्कीमा सञ्चालित सञ्चारगृहलाई अपांगमैत्री बनाउन आग्रह गर्ने साधारणसभाद्वारा प्रस्ताव पारित गरिएको छ ।

यस्तै, महासंघका पदाधिकारी तथा सदस्यहरुले बैठकमा प्रस्तुत भएका एजेण्डामाथि लिखितरुपमा छलफलमा सहभागी हुने, बैठकमा उपस्थित हुन नसकेमा अर्को बैठकमा स्पष्टिकरण दिनुपर्ने र बिना जानकारी लगातार तीन वटा बैठकमा उपस्थित नभएमा कार्वाहीको प्रक्रिया अघि बढाउने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

प्रस्ताव समितिमा प्रकाश ढकाल, सन्देश श्रेष्ठ, रोहितराज पराजुली, खीमा गुरुङ, गौरव त्रिपाठी र सुरेश रानाभाट रहनुभएको थियो ।
साधारणसभामा प्रस्तुत भएको सचिव माधवप्रसादबरालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण दवाडीको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका