डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • मंसिर ४ गते एसियाली देश कतारमा विश्‍वकप उद्घाटन हुने

मंसिर ४ गते एसियाली देश कतारमा विश्‍वकप उद्घाटन हुने

मंसिर ४ गते एसियाली देश कतारमा विश्‍वकप उद्घाटन हुने

काठमाडौं- कतारमा मंसिर ४ गते एसियाली देश कतारमा फुटबलको कुम्भमेला सुरु हुँदै छ। विश्वकप सुरु हुन लाग्दा विश्वका चर्चित लिगहरु स्थगित हुन थालेका छन्।

केही लिगका खेल मात्रै बाँकी छन्। लिग खेल्न विभिन्न देश पुगेका खेलाडीहरु विश्वकपका लागि आफ्नो देश फर्किन थालेका छन्। केही देशले त विश्वकपका लागि टोली समेत घोषणा गरिसकेका छन्।

अहिलेसम्म ब्राजिल, जापान, डेनमार्क, कोस्टारिका र अष्ट्रेलियाले आफ्नो टोली घोषणा गरिसकेका छन्। अन्य देश पनि अन्तिम टोली घोषणाको तरखरमा छन्। अब विश्व फुटबलको ध्यान कतारमा हुनेछ। तर रंगशालामै पुगेर फुटबल हेर्ने सबै फुटबल प्रेमीको सपना भने साकार हुँदैन।

कतिपय खेलका टिकट पहिल्यै बिक्री भइसकेको छ। त्यसो त लागतका हिसावले पनि सबैलाई फुटबल हेर्न मैदानमै पुग्न संभव छैन। रंगशालामा भन्दा टेलिभिजनमा फुटबल हेर्नेको संख्या संयौं गुणा बढि हुने नै भयो।

विश्वकपका कतिपय खेल हेर्न भने नेपाली दर्शकले मध्यरातसम्म कुर्नु पर्ने भएको छ। विश्वकपका ६४ मध्ये २४ खेल मध्यराति सुरु हुने भएका छन्। राति १२ः४५ बजे मात्रै सेमिफाइनल र क्वार्टर फाइनलसहितका खेल हेर्न पाइने भएको छ।

उद्घाटन खेल र फाइनल खेलसहित ४० खेल भने नेपालमा साँझै हेर्न पाइने भएको छ। यसअघि रुसमा भएको २१ औं संस्करणका विश्वकपका खेल ढिलोमा राति ११ः४५ बजे सुरु भएका थिए। रुसभन्दा कतारमा हुने विश्वकपका खेल हेर्न नेपालीले थप एक घण्टा पर्खनु पर्ने भएको हो।

नेपाली समयअनुसार कुन खेल कति बेला?

उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच मंसिर ४ गते नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ।

मंसिर ५

समूह चरणमा २ खेल मंसिर ५ गते हुनेछन्। जसमा इङ्ल्याण्ड र इरान ६ः४५ बजे भिड्ने छन् भने अर्को खेल हेर्न पनि मध्यरातसम्म कुर्नु पर्ने छैन। सेनेगल र नेदरल्याण्डबीचको खेल ९ : ४५ बजे नै हुनेछ। त्यसैरात १२:४५ बजे अमेरिकाले वेल्सको सामना गर्नेछ।

मंसिर ६ 

अर्जेन्टिनी स्टारको खेल हेर्न पनि नेपालीले मध्यरातसम्म कुर्नु पर्ने छैन। आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले नेपाली समय अनुसार दिउँसो ३:४५ बजे नै साउदी अरेवियासँग भिड्ने छ। यो खेल सकिएपछि सुरु हुनेछ डेनमार्क र ट्युनिसियाको भिडन्त।

यी टोली ६ः४५ बजे भिड्दा मेक्सीको र पोल्याण्ड ९ः४५ बजे आमनेसामने हुनेछन्। तर फ्रान्सको पहिलो खेल भने त्यसैमध्यराति सुरु हुनेछ। पहिलो खेलमा साविक विजेता फ्रान्सले १२ः४५ बजे अष्ट्रेलियाको सामना गर्नेछ।

मंसिर ७

साविक उपविजेता क्रोयसियाको पहिलो खेल पनि नेपाली समय अनुसार दिउँसै हेर्न पाइनेछ। ३ः४५ बजे क्रोयसियाले मोरक्कोसँग खेल्ने छ। ६ः४५ बजे जर्मनी र जापान भिड्ने छन्। स्पेन र कोष्टारिका बीचको खेल पनि ९ः४५ बजे नै सुरु हुनेछ।

बेल्जियम र क्यानडाबीचको खेलभने त्यसमध्यरात १२ः४५ मा हुनेछ।

मंसिर ८

मंसिर ८ गते दिउँसो ३ः४५ मा एसियन राष्ट्र स्वीजरल्याण्डले क्यामरुनको सामना गर्नेछ। उरुग्वे र दक्षिण कोरिया ६ः४५ बजे नै भिड्नेछन्।

क्रिस्टियानो रोनाल्डोको खेल हेर्न पनि नेपालीले मध्यरातसम्म बस्नुपर्दैन। पोर्चुगल र घानाबीचको खेल ९ः४५ बजे नै सुरु हुनेछ। तर ब्राजिलको पहिलो खेल भने मध्यरात सुरु हुनेछ। १२ः४५ बजे पहिलो खेलमा ब्राजिले सर्वियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। ब्राजिल र सर्वियाको खेलसँगै पहिलो चरणका खेल सकिनेछन्।

मंसिर ९ 

मंसिर ९ गतेबाट दोस्रो चरणका खेल सुरु हुनेछन्।

दोस्रो चरणको पहिलो खेलमा वेल्स र इरान दिउँसो ३ः४५ मा भेट हुँदा आयोजक राष्ट्र कतारले सेनेगलसँग नेपाली समय अनुसार ६ः४५ बजे खेल्नेछ।  त्यसै बेलुका ९ः४५ बजे  नेदरल्याण्ड्स र इक्वीडर भिड्दा मध्यरात १२ः४५ बजे इङ्ल्याण्ड र अमेरिका आमनेसामने हुनेछन्।

मंसिर १०

दिउँसो ३ः४५ बजे ट्युनिसिया र अष्टे«लिया भिड्दा, रोवर्ट लेवान्डोस्कीको टिम पोल्याण्डले साँझ ६ः४५ मा साउदी अरेवियाको सामना गर्नेछ।

पहिलो खेल मध्यरातमा खेल्ने फ्रान्सको दोश्रो खेल भने बेलुका ९ः४५ बजे सुरु हुनेछ। यो समयमा फ्रान्स र डेनमार्क भिड्नेछन्। तर लियोनल मेस्सीको खेल हेर्न भने मध्यरातसम्म कुर्नु पर्नेछ। समूह चरणको दोश्रो खेलमा अर्जेन्टिना र मेक्सीको राति १२ः४५ बजे भिड्नेछन्।

मंसिर ११

एसियन पावरहाउस जापान र कोष्टारिकाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुँदा त्यसै साँझ ६ः४५ बजे बेल्जियम र मोरक्को भेट हुनेछन्।

बेलुका ९ः४५ बजे क्रोयसियाले क्यानडासँग खेल्दा मध्यरातको खेल प्रतिक्षा लायक हुनेछ। त्यो रात दुई ठूला टिम स्पेन र जर्मनी १२ः४५ मा आमनेसामने हुनेछन्।

मंसिर १२ 

दिउँसो ३ः४५ मा क्यामरुनले सर्वियासँग खेल्दा ६ः४५ मा दक्षिण कोरिया र घाना भिड्नेछन्। ९ः४५ मा ब्राजिलले स्वीजरल्याण्डसँग खेल्दा त्यो मध्यरात पोर्चुगल र उरुग्वेलाई पर्खिनु पर्नेछ।

मंसिर १३ 

मंसिर १३ गतेबाट समूहका अन्तिम चरणका खेल सुरु हुनेछन्। अन्तिम चरणमा भने एउटै समूहमा दुई खेल हुनेछन्। एउटा समूहका सबै टोली एकसाथ भिड्नेछन्।

समूह एका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड र कतारबीचको खेल बेलुका ८ः४५ बजे सुरु हुनेछ। समूह बीका खेलका लागि भने मध्यरात कुर्नु पर्नेछ।

समूह बीको अन्तिम खेलमा इरान र अमेरिका तथा वेल्स र इङ्ल्याण्ड १२ः४५ मा एकसाथ आमनेसामने हुनेछन्।

मंसिर १४

समूह डी का खेल साँझै हुँदा मध्यराति सी का खेल कुर्नु पर्नेछ। ट्युनिसिया र फ्रान्स तथा अष्टे«लिया र डेनमार्क बेलुका ८ः४५ बजे भिड्नेछन्। तर समूह सीका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरेविया र मेक्सीकोबिचको खेल भने राति १२ः४५ बजे सुरु हुनेछ।

मंसिर १५ 

समूह एफ का खेल साँझ र समूह ई का खेल मध्यरातमा हुनेछन्। समूह एफका क्रोयसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीचको खेल बेलुका ८ः४५ मा खेल्नेछन्। समूह ई का जापान र स्पेन तथा कोष्टारिका र जर्मनीबीचको खेल भने राति १२ः४५ बजे हुनेछ।

मंसिर १६

मंसिर १६ गते राति समूह चरणका खेल सकिनेछन्। त्यो दिन पनि एउटा समूहको खेल साँझै हेर्न पाइनेछ भने अर्को समूहको खेल हेर्न मध्यरातसम्म कुर्नुपर्नेछ।

समूह एचका दक्षिण कोरिया र पोर्चुगलबीचको खेल ८ः४५ बजे सुरु हुँदा त्यही समयमा घानाले उरुग्वेको सामना गर्नेछ। मध्यराति १२ः४५ बजे समूह जी का खेल हुनेछन्। सर्विया र स्वीजरल्याण्ड तथा ब्राजिल र क्यामरुन भिड्नेछन्। लगतै अन्तिम १६ का खेल सुरु हुनेछन्।

प्रिक्वार्टर फाइनलका आधा खेल साँझ आधा मध्यरात

मंसिर १७ देखि अन्तिम १६ का खेल सुरु हुनेछन्। अन्तिम १६ का खेल हरेक दिन दुई वटा गरी चार दिन चल्नेछन्। जसमा चार खेल साँझ ८ः४५ र चार खेल राति १२:४५ बजे हुनेछन्। मंसिर २१ र २२ गते कुनै पनि खेल हुने छैन। २३ गतेबाट क्वार्टर फाइनलका खेल सुरु हुनेछ। २३ गते राति ८:४५ र १२:४५ तथा भोलिपल्ट दुई खेल पनि सोही समयमा हुनेछन्।

सेमिफाइनलका खेलहरु भने मध्यरातमा हुनेछन्। दुई दिन खाली रहेपछि मंसिर २७ गते र २८ गते राति १२ः४५ बजे सेमिफाइनलका खेल हुनेछन्। त्यसपछि फेरि दुई दिन कुनै पनि खेल हुने छैनन्।

तर तेस्रो स्थानका लागि हुने खेल र विश्वकपको फाइनल भने साँझैमा हुनेछ। पुस २ गते तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित टोली भिड्दा पुस ३ गते बेलुका ८:४५ बजे विश्वकपको फाइनल हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका